

एमबाप्पेको ह्याट्रिकमा बार्सिलोना स्तब्ध

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलको अन्तिम-१६ को पहिलो लेगमा शानदार जित हात पारेको छ ।मंगलवार रात भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको मैदानमा भएको खेलमा एमबाप्पेले ह्याट्रिक गरेका थिए । क्याम्प नाउमा सुरुवाती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको २७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर,३२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।
७० औं मिनेटमा मोइस किनले गोल गरेपछि पीएसजीले ३-१ को अग्रता बनायो । त्यसपछि खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-१ ले विजयी भयो । दोस्रो लेग खेल पीएसजीको मैदानमा १० मार्चमा हुनेछ । एजेन्सी