

भोटेकोशी आयोजनाको ढलान खस्दा बेपत्ता दुई मजदुरको शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ ।
गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन्। आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन् ।
उनीहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
उक्त दुर्घटनामा ११ जना घाइते भएका थिए । गत वर्षको साउन महिनादेखि निर्माण सुरु गरिएको भोटेकोशी–१ जलविद्युत्को सुरुङभन्दा माथि मजदुर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको थियो ।
एघार जनाको तत्काल उद्धार गरिएको थियो । उनीहरु सबै घाइते छन् । उनीहरुको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल लगिएको छ ।