

टेस्ट क्रिकेटमा इङ्ल्यान्ड ३१७ रनले पराजित

चेन्नाई – भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ ।
पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच विकेट लिन सफल भएका थिए । जितका लागि चारसय ८२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिन १६४ रनमै समेटिएको थियो ।
अर्का भारतीय बलर रविचन्द्रन अश्विनले दुबै इनिङमा गरी आठ विकेट लिएका थिए । उनले व्यक्तिगत १०६ रन पनि बनाएर भारतीय इनिङलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए । तेस्रो टेस्ट यही फेब्रुअरी २४ मा अहमदाबादमा हुनेछ ।