बाढीको विपत्तिमा विराटनगरबासीः डुबे ६ सय घर, विमानस्थलमा उडान अवरूद्ध



मोरङ । लगातारको वर्षापछिको पानीले निकास नपाउँदा विराटनगर जलमग्न भएको छ । गए रातिदेखि परेको वर्षाले महानगरका १९ वटै वडावासी डुबानबाट प्रभावित बनेका छन् ।

डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएका छन् । सडकभन्दा माथि नाली निर्माण हुनु र नालीको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ ।

महानगर–३ को हिमाली मार्ग, फिफा, त्रिमार्ग, आस्था र मितेर मार्गका ९० प्रतिशत घर डुबानमा परेका छन् ।

स्थानीय वासु भण्डारीकाअनुसार पहुँचका आधारमा सडक र नाला निर्माण गरेर पानीको निकास नगर्दा वडाको पुरै बस्ती नै डुबानमा परेको हो । उनकाअनुसार हिमाली मार्ग अन्तर्गतका घरको भुई तलामा पानी छिरेको छ । यसक्षेत्रका अधिकांश घरको भुइँतलामा दुई फिटसम्म पानी जमेको छ ।

वडा ३ कै पिपलचोकको प्रताप मार्गको सडक निमार्ण गर्ने क्रममा सडक भन्दामाथि नाली निर्माण गरिँदा त्यहाँका सय भन्दाबढी घर डुबानमा परेको स्थानीय पिताम्बर बजगाईंले जानकारी दिए । उनले भने, ‘सडक तल र नाली माथि निर्माण गरेर निकास बन्द गर्दा यहाँका सबै घरको भुईं तलामा तीनफिटसम्म पानी जमेको छ ।’

विराटनगर–४ अन्तर्गत एयरपोर्ट क्षेत्रसहित रामजानकी टोल, रेग्मी समाज टोल र कुमारी राइसमिल आसपासको बस्ती डुबानमा परेको छ । वडा नं ६ को वरमपुराका ६ सय भन्दा बढी घर डुवानमा परेको वडा अध्यक्ष अक्षय सहनीले बताएका छन् । उनका अनुसार स्थानीय बस्ता खोलाको पानी बस्तीमा पस्दा घर डुबानमा परेका हुन् । वडा नं ११ को जनपथ र मडी टोलका अधिकांश घर डुबानले प्रभावित बनेको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले वताए । वडा नं ८ को सरस्वती टोल डुबानमा परेको छ ।

महानगरको वडा नं १५, १६, १७ र १८ का मिल्स एरिया, लंका, दरैया, दामागिरी र स्लामपुर सहितका अधिकांश बस्ती डुबानले प्रभावित भएको इप्रका रानीका प्रहरीनिरीक्षक प्रकाश थापाले बताए । महानगर जलमग्न भएको बताउँदै मेयर नागेश कोइरालाले एशियाली विकास बैंक लगायत विभिन्न दातृ निकायको सहयोगमा सडक र नाला निर्माण गरिँदा पानी निकासको विकल्प नखोजिएका कारण महानगरमा हरेक वर्ष डुबानमा पर्दै आएको दाबी गरे ।

सडक र नाला त बनाइयो तर पानीको निकासबारे कसैले पनि ध्यान नै दिएनन् । कोइरालाले भने बिनायोजना गरिएको विकास निर्माणले महानगरवासीले आकासे पानीमै डुबानको सास्ती खेप्नु परेको छ । डुवानका कारण महानगरका अधिकांश विद्यालय बुधबार बन्द रहेको प्याब्सन मोरङका अध्यक्ष प्रेम सुवालले बताए । महानगरले पनि डुबानको अवस्था हेरेर विद्यालय खोल्न निर्देशन दिएको मेयर कोइरालाले बताए ।