को हुन् दामोदर न्यौपाने जसले निकाले इन्स्पेक्टरमा एक नम्बरमा नाम ?

बुवा जिवितै हुँदा परिक्षाको फर्म भरेका दामोदरले आफू इन्स्पेक्टर भएको भने देखाउन पाएनन्



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रहरी निरीक्षक (इन्स्पेक्टर) को अन्तिम नतिजा सार्वजनिक गर्यो । उक्त नतिजाअनुसार ९६ जनाले इन्स्पेक्टरमा नाम निकाले ।

ती ९६ जनामध्ये पहिलो नम्बरमा नाम निकाले दामोदर न्यौपानेले । हाल प्रहरीभित्रै प्रहरी सहायक निरीक्षक (असई) समेत रहेका न्यौपानेले एक नम्बरमा नाम निकालेका हुन् । ७ वर्षअघि नेपाल प्रहरी संगठनमा प्रवेश गरेका न्यौपाने हालसम्म संगठनमा रहँदा बखतका उत्कृष्ट कर्मचारीसमेत हुन् । उनी १७४ औं ब्याजका असई हुन् ।

प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. ६ का स्थायी बासिन्दा दामोदर घरका एक्ला छोरा हुन् । प्रहरी सेवामा काम गर्दै आएका दामोदरले गत मंसिरमा बुवा भुवनेश्वरलाई गुमाउन पुगे । बुवाकै छत्रछायाँमा रहेका बेला इन्स्पेक्टरका लागि परिक्षाको फर्म भरेका दामोदरले आफू इन्स्पेक्टर भएको खुशीको पल भने बुवासँग साट्न पाएनन् तर, आमा पवित्रासँग भने अहिलेको खुशी बाँडेका छन् ।

सामाजिक कार्यमा समेत सक्रिय रहने गरेका न्यौपाने जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) मा कार्यरत रहेको बेला २०७७ माघ ३ गतेदेखि २०७८ चैत ०९ गतेसम्म करिब १४ महिनाको सर्वोत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत समेत भएका थिए ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागका अनुसार २०८० साल कात्तिक ३ गते प्रकाशित विज्ञापनअनुसार परिक्षामा सहभागी भएकामध्ये खुला र समावेशी समूह गरी ९६ जना इन्स्पेक्टर नियुक्तिका लागि उत्तीर्ण भएका छन् ।

सूचनाअनुसार खुलातर्फ ५२ जनाले नाम निकालेका छन् ।

सूचनाअनुसार खुला समूहमा ८ जना, महिलामा २ जना, आदिवासी जनजातीतर्फ २ जना, मधेसी तर्फ २, दलित तर्फ २ र पिछडिएका तर्फ २ जनाले वैकल्पिकमा नाम निकालेका छन् ।