

महानगरका अस्पताललाई आफ्नै फार्मेसी चलाउन मेयर बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएका छन् ।
महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरुलाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।
महानगरपालिकाको सूचनामा भनिएको छ,‘अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि र औषधिजन्य सामग्रीहरु बिक्री भइरहेको गुनासो प्राप्त भएको छ । अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ ।’
महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका छैनन् ।
अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको महानगरपालिकाले जनाएको छ ।