

‘संसदमा रमाइलो छैन, वाक्क लागेर निदाएँछु’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् ।
सोमबार प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिदै केसीले संसदमा जति बहस र छलफल गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य नभएको टिप्पणी गरेका हुन् ।
उनले बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको बताए । उनले भने- ‘अर्थमन्त्रीज्युले पेश गर्नुभएको बजेट एकसुका एक आना यहाँ जति उफ्रे पनि तलमाथि गर्न नपाइने, जे आएको छ त्यसलाई स्वीकार गर्नपर्ने भएपछि यस्तो छलफलको पनि त्यति औचित्य लड्न छोड्यो । म छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु । रमाइलो छैन संसद, दिक्क लाग्दो छ ।’
उनले बजेटमा सरकारले संविधानमा व्यवस्था गरेबमोजिम समाजवाद उन्मुख कार्यक्रमलाई प्राथमिकता दिन नसकेको बताउदै नीति तथा कार्यक्रम भन्दा फरक रुपमा बजेट आएको टिप्पणी गरे ।