

शारीरिक सम्बन्धी राखेको भिडियो खिचेर धम्की दिने युवक पक्राउ

काठमाडौं । महिलाहरूसँग शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिचेर सार्वजनिक गर्ने धम्की दिँदै पैसा असुल्ने एक युवक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा म्याग्दी नगरपालिका वडा नं. ५ बस्ने सन्तोष किसान हुन् ।
उनले सामाजिक सञ्जालमार्फत महिलाहरूसँग सम्पर्क गर्दै शारिरीक सम्बन्ध स्थापित गरी गोप्य रुपमा भिडियो र फोटो खिच्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ ।
त्यसपछि उक्त फोटो र भिडियो पीडित महिलाको आफन्तहरूलाई पठाइदिन्छु भन्दै धम्की दिएर पैसा माग्थे । उनले महिलालाई पुनः शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य समेत पार्ने गरेका थिए ।
उपरीक्षक रेग्मीका अनुसार आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको उजुरीको आधारमा किसानलाई गत जेठ १४ गते काठमाडौँको कोटेश्वरबाट पक्राउ गरिएको थियो ।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।