४ एसएसपीमा बढुवाको तयारी, को–को छन् दौडमा ? (नामसहित)



काठमाडौं । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा रिक्त दरबन्दीमा बढुवाको तयारी सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गरिएपछि उनीहरुको स्थानमा रिक्त रहेको ४ जनाको दरबन्दीमा बढुवाको तयारीमा लागेको हो ।

यसअघि संगठनमा भएका तीन पदहरु (डिआईजीं, एसपी र डिएसपी) बढुवा विवादरहित बन्न नसकेको अवस्थामा एसएसपी बढुवा कसरी हुने भन्ने विषय प्रतिक्षाकै विषय रहेको छ ।

डिआईजीमा ब्याचीलाई नै फड्किएर बढुवा गरेको आरोप लागेको छ भने एसपीमा बरियताको शीर्ष स्थानका अधिकृतलाई नै छुटाएर बढुवा गरिएको थियो । त्यस्तै डिएसपी बढुवामा पनि राजनीतिक दलको प्रभाव रहेको भन्दै संगठनभित्र र बाहिर आलोचना भएको थियो ।

यसपटक गरिन लागेको एसएसपी बढुवाको बढुवाको दाबेदारमा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा पुगेका विमल बस्नेत र २०५५ भर्ना भइ  प्रहरीमा पुगेका श्यामकृष्ण अधिकारी रहेका छन् । त्यस्तै एसपी हिराबहादुर पाण्डे पनि बढुवाको दाबेदार छन् ।

यस्तै, २०५६ मा इन्सपेक्टरमा भर्ना भएका नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, विनोद सिलवाल र भीमबहादुर दाहाल बढुवाको दाबेदार छन् ।

चार पदमा मात्र रिक्त रहेकोले यीनै ९ जनाबाट बढुवा हुने अपेक्षा गरिए पनि पछिल्लो ब्याचका अधिकृत पनि दौडधूपमा लागेकोले यसै भन्न सकिने भने अवस्था छैन ।

२०५८ मा इन्सपेक्टरमा भर्ना भएका रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढा मगर लगायत बढुवाका प्रतिस्पर्धामा छन् ।

गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा सिफारिस समितिले एसएसपीमा बढुवा सिफारिस गर्नेछ । समितिमा आईजीपी र उनले तोकेका एआईजी सदस्य रहनेछन् ।