अरूणखोलाबाट मित्याल जाँदै गरेको जिप दुर्घटना, २ को मृत्यु, १३ घाइते

नवलपुर । पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ।

नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालतर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजिव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। उक्त जिपमा सवार अन्य १३ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यस्तै जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेको नवलपरासीको अस्पतालमा उपचार जारी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *