

भालुलाई हानेको गोली लागेर सैनिक प्युठ सिंह घाइते
गस्तीका कमाण्डरलाई आक्रमण गरेपछि भालुलाई हानेको गाेली सैनिक प्युठ सिंहको खुट्टामा लाग्यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको एक सैनिक जवान सहकर्मीको गोली लागेर घाइते भएका छन्।
गस्तीमा सैनिकको टोलीका कमाण्डरलाई भालुले आक्रमण गरेपछि जोगाउन गोली हान्दा सैनिक जवानलाई लागेको प्रहरीले जनाएको छ।
आज बिहान निकुञ्जको सौराहा क्षेत्रमा रहेको नयाँ गोरख गणबाट गएको नेपाली सेनाको टोलीका कमाण्डर हवल्दार लक्ष्मणकुमार थापालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए।
हवल्दार थापालाई जोगाउन उनकै टीमका सैनिकले हानेको गोली भालुलाई छेडेर अर्का सैनिक प्यूठ कुन्दन सिंहलाई लागेको प्रहरीले जनाएको छ। घाइते सैनिक सिंहको खुट्टामा गोली लागेको छ।
भरतपुर अस्पतालमा उपचाररत सिंह खतरामुक्त छन्। यद्यपि उनको थप उपचारको लागि नेपाली सेनाको अस्पताल छाउनी रिफर गरिएको छ।