डिआईजी बढुवाः ३ पदका लागि दर्जनाैं एसएसपी दाैडमा



काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डिआईजी) बढुवाको प्रक्रिया चर्चामा छ । रिक्त तीनवटा डिआईजी पदको लागि दर्जनौं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रतिस्पर्धामा छन् ।

काँधमा डिआईजीको फुली लाउन पाउने आकाङ्क्षामा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरका ब्याची, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाका ब्याची र अन्य एसएसपीहरु प्रतिस्पर्धामा रहेका छन् ।

तर, डिआईजी बढुवामा गृहमन्त्री रवि लामिछाने र आईजीपी कुँवरको एउटै अडान छ नेतृत्व विकास गर्नुपर्छ, हुनुपर्छ । उनीहरुको अडानपछि संगठनमा काविल एवम् क्षमतावान् अफिसरहरूको वृत्तिविकासमा रोकावट हुनेछैन ।

डिआईजीको लागि आईजीपी कुँवरका ब्याचीहरु हुन् भोला रावल, धु्रवराज राउत र गणेश चन्द । उनीहरु २०५१ चैत ५ मा आईजीपी कुँवरसँगै प्रहरीमा प्रवेश गरेका हुन् । उनीहरु तीनैजना डिआईजीको स्वतः दाबेदार हुन् ।

चन्दभन्दा रावल र रावत एकवर्ष पहिले एसएसपी भएका हुन् । रावल, रावत २०७८ मंसिर १२ मा र चन्द २०७९ असार २५ गते एसएसपी भएका हुन् । तर, आईजीपी कुँवर उनीहरुको कार्यसम्पादन क्षमतामा सन्तुष्ट नरहेको विश्वस्त स्रोत बताउँछ ।

त्यस्तै बढुवा सूचीको १ नम्बरमा कृष्णहरि शर्मा पोखरेल छन् । उनी आईजीपी कुँवर भन्दा पछिल्लो ब्याच अर्थात एआईजी थापाका ब्याचका हुन् । पोखरेल २०७७ माघ ९ मा एसएसपी भएका हुन् । पहिलो नम्बरमा रहेका कारण एसएसपी शर्माको सम्भावना बढी छ ।

‘यी चार जनामध्ये एकजना बढुवा सूचीमा पर्ने सम्भावना छ,’ गृह स्रोतले भन्यो, ‘एसएसपी शर्मा पहिलो नम्बरमा रहेका कारण उनकै सम्भावना छ । तर, पनि भन्न सकिन्न । पछाडि ब्याचका टोलीहरु अब्बल र इमान्दार रहेका कारण छुट्न पनि सक्छन् ।’

पछाडिको टोलीबाट भावी प्रमुखको समेत टुंगो लाग्ने हुँदा सम्भावित उम्मेदवारहरुको दौडधुप बढेको समाचार बाहिरिएको छ । २०७९ असार २५ मा बढुवा भएका ३२ एसएसपी पनि बढुवाको प्रतिस्पर्धामा छन् ।

यो टोलीबाट कार्यसम्पादन क्षमतामा समेत अब्बल रहेका अधिकृतहरु छन् । आईजीपी कुँवर नेतृत्व विकास गर्नुपर्ने भन्दै यही टोलीका एसएसपीलाई रिक्त डिआईजी पदमा बढुवा सिफारिस गर्नुपर्ने पक्षमा छन् ।

यो टोलीबाट क्रमःश पहिलो नम्बरमा सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, दानबहादुर कार्की, डा. मनोज केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठलगायत प्रतिस्पर्धामा छन् ।

जसमध्ये पहिलो नम्बरमा रहेका शाह केही समयअघि मात्र कारबाहीमा परेका छन् । ललितपुर प्रहरी प्रमुख हुँदा बालकुमारी घटनामा कमजोरी देखिएपछि कारबाहीस्वरुप शाहलाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारीमुक्त गरेको थियो । जसकारण उनको सम्भावना कम छ ।

त्यस्तै दोस्रो नम्बरमा रहेका सुशिल सिंह रठौर संगठनमा विवादरहित अधिकृतको रुपमा चिनिन्छन् । तेस्रो नम्बरका चतुर्वेदी समेत संगठनमा इमान्दार छवि बनाएका अधिकृत हुन् । यस्तै चौथो नम्बरका कार्की र पाँचौंका केसी संगठनमा अब्बल प्रहरी अधिकृत हुन् ।

उनीहरुमध्ये तीनजना नै बढुवामा पर्नसक्ने बताइएको छ । यता, आईजीपी कुँवर एसएसपीद्वय कार्की र केसीलाई जसरी पनि बढुवा गर्नुपर्ने पक्षमा छन् । नेतृत्व विकास गर्नुपर्ने भन्दै आईजीपी कुँवरले उनीहरुलाई बढुवाको लागि रुचाएका हुन् ।

एसएसपीद्वय कार्की र केसी २०५४ चैत १८ मा निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनीहरु संगठनमा अब्बल प्रहरी अधिकृतको रुपमा परिचित छन् । जसकारण उनीहरु गृहमन्त्री लामिछानेको रोजाईमा समेत परेका छन् ।

तर, आईजीपी कुँवरले कनिष्ठलाई बढुवा गर्ने सङ्केत गरेपछि उच्च प्रहरी अधिकृतहरू असन्तुष्ट बनेका छन् ।

प्रहरीको बढुवा प्रणालीमा परम्परागत रूपमा वरिष्ठता अर्थात् जेष्ठताको आधारको ठाउँमा अब कार्यकुशलता र लगनशीलतालाई ल्याउनु पर्छ भनेर गृहमन्त्री लामिछानेले आईजीपी कुँवरलाई सुझाव नै दिएका छन् ।

कार्यकुशलताभन्दा पनि जेष्ठतालाई विशेष आधार मानेर एउटै ब्याचलाई सँगै बढुवा गर्दै लैजाने गर्ने हो भने त्यसले पछिका ब्याचका काविल एवम् क्षमतावान् अफिसरहरूको वृत्तिविकासमा बाधा वा रोकावट हुने गरेको देखिन्छ ।

जसअनुसार आईजीपी नेतृत्व विकासको लागि संगठनलाई चलायमान बनाउन खोजेका छन् । ०७९ चैत ११ मा आईजीपी बनेका कुँवर ०८१ चैत ५ सम्म सेवामा रहन्छन् ।

त्यसपछि ५ महिना १० दिन, अर्थात् १ सय ६० दिनका लागि दीपक थापा, सुदीप गिरी वा टेकबहादुर तामाङमध्ये एकजना आईजी हुन्छन् । यो टोलीले ०८२ भदौ १८ मा अवधी पूरा गरेपछि शाह, राठौर, चतुर्वेदी, कार्की र केसीको टोलीको पालो आउँछ । -स्कुपखबर