शीर्षलाई विस्थापित गर्दै १२ औं नम्बरका डिएसपी बढुवा !



काठमाडौं । करिब ६ महिना लामोसमयदेखि नेपाल प्रहरीमा रिक्त एसपी पदमा बढुवा सिफारिस भएको छ । तर, वरियतामा पहिलो नम्बरमा रहेका डीएसपी नै छुटेका छन् ।

८ पदका लागि १२ जना प्रतिस्पर्धी रहेको अवस्थामा बढुवा समितिले ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादब ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलीया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेसहित ८ जनाको बढुवा गरेको हो भने शीर्ष बरियतामा रहेका प्रदीप क्षेत्री भने बढुवामा परेका छैनन् ।

प्रतिस्पर्धीमध्ये १२ मध्ये बरियताको शीर्ष स्थानमा रहेका प्रदीप क्षेत्री र छैटौं स्थानमा रहेका नारायण रंजितकारका साथै अनन्त शर्मा र एकनाराण कोइराला बढुवाबाट छुटेका छन् । १२ औं नम्बरमा रहेका बिनोद घिमिरे बढुवा हुँदा पहिलो नम्बरमा रहेका प्रदीप क्षेत्री छुटेपछि बढुवाको निष्पक्षतामाथि प्रश्न उठेको छ ।

घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वपिएसओ हुन् । त्यस्तै केपी ओलीका पूर्व पिएसओ रहेका सन्तोष तामाङ र राजन लिम्बु पनि बढुवा भएका छन् ।

यस बढुवासँगै प्रहरी महानिरीक्षक बसन्त कुँवर र गृहमन्त्री रवि लामिछानेले भन्दै आएको बरियता र मापदण्ड मिचिएको छ ।

बढुवा सिफारिस भएका वरियताअनुसार पहिलो नम्बरमा प्रदीप क्षेत्री, दोस्रोमा अंगुर जिसी, तेस्रोमा ढकेन्द्र खतिवडा थिए । खतिवडाको पहिलो र जिसीको दोस्रो नम्बरमा बढुवा सिफारिस भएको छ ।

त्यसपछिको बरियतामा यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार, निरञ्जनदत्त भट्ट,राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे थिए ।

एसपीका दुइ प्राविधिक दरबन्दी प्रशासनतर्फ स्थानान्तरण गरी बढुवा गर्ने प्रयास भएपनि त्यो सफल हुन नसकेपछि आठ पदमै बढुवा भएको हो ।