एक्लै १३०० किमी यात्रा गर्दै इन्टाग्रामका ‘ब्वाइफ्रेन्ड’ भेट्न भारत पुगेकी नेपाली बालिका प्रेमीबाटै बलात्कृत !



काठमाडौं । सोसल मिडियाका कारण विश्वमा अनेक घटना घटेको पाइन्छ । सोसल मिडियाकै माध्यमबाट कैयौंलाई सकारात्मक प्रभाव पारेको छ भने कतिपयको ज्यानै जानेसम्मको घटेको सञ्चारमाध्यमहरुमा आउन थालेको छ ।

यस्तै एक दुःखद् घटना एक नेपाली बालिकाले भोगेको खुलेको छ । भारतीय एक सञ्चारमाध्यमका अनुसार सोसल मिडियाकै माध्यमबाट चिनजान भएको एक व्यक्तिलाई भेट्न नेपालबाट करिब १३०० किलोमिटर टाढा भारतको महाराष्ट्र पुगेकी एक नेपाली बालिका तिनै व्यक्तिबाट बलात्कृत भएकी छिन् ।

इन्स्टग्राम नामक सोसल मिडियाका माध्यमबाट परिचित साथी भेट्नका नेपालबाट महाराष्ट्रसम्म एक्लै पुगेकी १५ वर्षीया बालिकालाई तिनै व्यक्तिले महाराष्ट्रका मुम्बरामा बलात्कार गरेको पनि खुलेको छ । अहिले ती बलात्कारीलाई महाराष्ट्र प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको छ ।

घटना करिब १ महिना अघिको भएको पनि जनाइएको छ । भारतीय प्रहरीका अनुसार ती बालिका १७ मार्चमा नेपालबाट हिँडेकी गोरखपुर हुँदै मार्च १९ मा कल्यान पुगेकी थिइन् । ती बालिकालाई लिन २२ वर्षीय युवक त्यहीँ आएका थिए । त्यसपछि उनले घरमा लगेर बलात्कार गरी डिभा स्टेशनमा लोकल ट्रेनको टिकट काटेर छाडिदिएको खुलेको छ ।

त्यसपछि ट्रेनमा दाडर जाँदै गरेकी ती बालिकाले सँगै सिटमा बसेका अन्य यात्रुलाई घटनाबारे जानकारी गराएपछि ती बालिकालाई उपचारका लागि अस्पताल लगिएको पनि जनाइएको छ । त्यसपछि बालिकाले ती बलात्कारी युवकको फोन नम्बर दिएपछि प्रहरीले केही घन्टामै त्यस युवकलाई पक्राउ गरेको थियो । ती युवकले युवतीको मोबाइलबाट सबै म्यासेज र आफ्नो नम्बर हटाइदिए पनि बालिकाले नम्बर सम्झेकी थिइन् र सोही नम्बर प्रहरीलाई दिएपछि प्रहरी ती युवकसम्म पुगेको पनि जनाइएको छ ।

ती बालिकालाई युवकले विवाह गर्ने प्रलोभन देखाएर महाराष्ट्रसम्म बोलाएको पनि खुलेको छ । प्रहरीले ती युवकलाई पक्राउ गरी आईपिसीको सेक्सन ३७६ अनुसार मुद्दा चलाएको छ भने ती बालिकालाई चाइल्ड वेलफेरि कमिटीको जिम्मा लगाएर नेपालका आफन्तलाई जानकारी गराइएको थियो ।