मन्त्री ज्यू ! ‘जागिर खाएको ११ वर्षमा ११ रुपैयाँ पनि बचत छैन’



नवनेपाल डटकमले पाठकको भावनालाई समेट्ने नयाँ प्रयासस्वरूप गुनासा र पत्रहरु आउन थालेका छन् । साेही क्रममा यसअघि मन्त्री ज्यू ! सिपाहीहरुले पनि सुन्दर सपना देख्न जानेका हुन्छन् शीर्षकको पत्र प्रकाशित गरिसकेपछि पत्र, भावना र गुनासाहरु आउने क्रम बढ्दै गएको छ । ती पत्रहरुमध्ये आजको एक सुरक्षाकर्मीकै पत्रलाई जस्ताको तस्तै समावेश गरिएको छ ।

उनी लेख्छन्ः

नमस्कारः म हाल सशस्त्र प्रहरी बल नेपालमा जवान पदमा कार्यरत छु, मेरो समस्या यसप्रकार रहेको छ, माननीय गृहमन्त्रीज्यू र गृहसचिव ज्यू समक्ष पुर्याउनुहुनेछ भन्ने आशामा छु ।

अहिले मेरो जागिर ११ वर्ष भयो । अहिलेसम्म ११ रुपैयाँ बचत पनि छैन, छोराछोरी पढाउन र खाना खान पनि पुगेको छैन, छोराछोरी बिरामी भए भने ऋण खोज्नुपर्छ । हिजो देशको सेवा गर्ने रहरले जागिर खाइयो, १६ वर्ष सेवा गर्ने र त्यसपछि विदेश जानी वा अन्य कुनै पेशा गर्ने सोचका साथ सेवा प्रवेश गरियो, यो बल छन्जेल देशको लागि सेवा गर्ने र यति गर्दा पनि बिहान बेलुकाको छाक टार्न मुस्किल छ । हाम्रो सम्पूर्ण जवानहरुको एउटै माग १६ वर्षमा रिटायर्ड हुन पाइयो भने बाँकी समयमा अन्य विकल्प रोजेर सानो बस्ने बास बनाउन पाइन्छ कि भन्ने आशा छ ।

यो देशमा सुरक्षाकर्मीमा नी कत्रो विभेद छ, नेपाल आर्मी १६ वर्ष छ, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा छैन, राज्यबाटै कति विभेद छ ? अनि रातदिन बिदा अवधिमा पनि ड्युटीमा खटिनुपर्छ, निजामतिको जस्तो १०–४ होइन, अझ घरमा बिदा बसेको बेलामा पनि बोलाए पनि तुरुन्त गईहाल्नुपर्छ ।

११ वर्ष भयो अहिलेसम्म सिपाहीको सिपाही छु । निजामतिको ११ वर्षमा ३ पटक बढुवा हुन्छ । मसँगैका साथीहरुले घर घडेरी जोडेर पनि सेटल भएर बसिसक्नुभयो, अनेकौं समस्याका बाबजुद पनि देशको सेवा गर्ने रहर हुन्छ तर साथीभाई, परिवारको दबाब र राज्यको विभेदले गर्दा हामी तल्लो तहका कर्मचारीहरुको मनोबल एकदमै घटेको छ । सकिन्छ भने सबैको नत्र भने २०७२ को नियमावली संशोधन हुनुभन्दा अगाडिको १६ वर्ष हुनु अति आवश्यक छ । किनभन्दा २० वर्षे नियमावली २०७२ सालमा भएको हो ।

माननीय गृहमन्त्री ज्यु र गृहसचिव ज्यू समक्ष पुर्याइदिनुहुन्छ भन्ने पूर्ण आशावादी छु ।

 

(हाम्रा आम पाठकहरुको मनमा रहेको सुख, खुशी, दुःख, पीडा, भावना साट्नका लागि छुट्याइएको यस कोलमका लागि हजुरहरुले पनि लेखेर हाम्रो इमेल news.nabanepal@gmail.com मा पठाउन सक्नुहुनेछ, हजुरहरुको इच्छा बमोजिम नाम सार्वजनिक गर्ने/नगर्ने गरिनेछ । सं.)