प्रहरी सबैको निशानामा किन र कहिलेसम्म ?



काठमाडौं । देशलाई र जनतालाई केही समस्या परेमा सुरक्षा दिने अभिप्रायसहित स्थापना भएको संगठन हो प्रहरी । नेपाल प्रहरी जनताको सेवाका लागि २४ सै घण्टा खटिएको हुन्छ । तर पनि कुनै घटनाका क्रममा प्रहरीप्रति नै आम सर्वसाधारण किन आक्रोश पोख्छन् ?

प्रहरी पनि हाम्रै दाजुभाई–छोरा हुन् भन्ने कुरा हामीले कहिले मनन् गर्ने होला ? हामीले प्रहरीलाई गर्ने व्यवहार किन यस्तो रु एक पटक हामी प्रहरी भएर त्यो ठाँउमा बसेर हेरौं त ।

नेपाल प्रहरी हरेक जनताको सुरक्षाका लागि दिनरात खटिइरहेको हुन्छ । तर, विभिन्न आन्दोलन, देशमा घट्ने घटना, दुर्घटना एवं अन्य विपत् एवं अपराधजन्य घटनामा समेत प्रहरी जहिले पनि ‘पहिलो तारो’ बन्ने गरेको छ ।

जनताको सुरक्षाका लागि सडकमा उभिइरहेका प्रहरी, रातदिन नभनी ड्युटीमा खटिइरहेका प्रहरीमाथि हामी ढुंगा मुढा हान्न किन तयार हुन्छौं ? सडकमा सवारी दुर्घटना भयो भिडभाड भयो यसरी जाम नगरी दिनु होस् भन्यो दोषी प्रहरी नै हुन्छ । यहाँ भिडभाड भयो अरु घटना हुनसक्छ घाईतेले तत्काल उपचार पाउन पर्छ र अनावश्यक भिडभाड गरेर उद्धारमा खटिएको प्रहरीलाई सहयोग गर्नुपर्छ भन्ने चेतना कहिले आउने हो हामीमा ?

त्यस्तै उपचारको सिलसिलामा बिरामीको मुत्यु भएमा हस्पिटलले जानकारी गराउँछ, तर पीडित एवं जनताको नजरमा प्रहरी पर्दछ । थप क्षति नहोस् र पीडितको लागि न्यायको पक्षपोषण गरिरहँदासमेत प्रहरीलाई दोष थोपरिन्छ ।

पछिल्ला दिनमा अस्पतालहरुमा घट्ने यस्ता किसिमका घटनाबाट स्वस्थ्य मानिसमात्र नभएर अस्पतालको शैय्यामा उपचार गराइरहेका कैयौं बिरामीहरुले समेत शारिरीक एवं मानसिक पीडा भोग्नुपरेको छ ।

विभिन्न राजनीतिक प्रदर्शनका साथै समूहका आन्दोलनहरुमा पनि विभिन्न सरकारी सवारी साधन, सरकारी सम्पत्तिहरुको तोडफोड एवं विध्वंशको दोष पनि प्रहरीले नै भोग्नुपरेको तीतो यथार्थ हामीमाझ छ । जनताको सेवाका लागि भुजा र काँचो सागकै भरमा पनि ड्युटी गरिरहेका प्रहरीमाथि आमनागरिकले पनि मानविय व्यवहार गरिदिए हुने ।

सरकारी भवन, उपकरण तोडफोड गर्दा हामीले नै तिरेको करबाट बनाउने हो र राज्यलाई नोक्सानी हुनु र प्रतिव्यक्ति ऋण बढ्नु हामिलाई दायित्व थपिनु हो भनेर कहिले बुझ्ने ?

यस्ता परिघटनाका फेहरिस्त जति लेखे पनि सकिँदैन । त्यसकारण सर्वसाधारण नागरिकले पनि असल नागरिक बन्ने प्रयास गर्नुपर्छ, जसले गर्दा राज्य एवं हाम्रै सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको मनोबल घटाउने नभई बढाउने काम गरोस् । कुनै पनि समस्याको समाधान बिनासबाट होइन भन्ने कुरा सबै आम नागरिकले मनन् गर्न सकेमा घाम पानी नभनी ड्युटीमा खटिएका प्रहरीहरुले केही हदसम्म भए पनि सहज महसुस गर्ने थिए ।

घटना र दुर्घटनास्थलहरुमा खटिएका प्रहरीलाई अनावश्यक रुपमा प्रेसर र भिड गरिदिनाले कुनै पनि घटनाका पीडितहरुले राहत पाउनुभन्दा पनि आहात महसुस गर्नुपर्ने अवस्था आउन सक्दछ । र, प्रहरी पनि आम नागरिकसरहकै मनिस भएको र जिम्मेवारी मात्रै फरक भएको भन्ने महसुस आम जनताहरुले गरेको खण्डमा कुनै पनि घटना एवं परिघटनालाई काबुमा ल्याउन सफल भइन्छ भन्ने कुरा आम सर्वसाधारणले पनि बुझ्नुपर्दछ ।