

आफूलाई प्रहरी बताउँदै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित ३२ क्याफेमा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिंहदरबारबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । आफू प्रहरी भएको बताउँदै उनीहरुले लुटपाट गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालका–१ घर भएका ३२ वर्षीय प्रमेश्वर खड्का, रामेछापको मन्थली नगरपालिका–९ का २८ वर्षीय मिलन तामाङ भनिने विनोद सुन्दास र ओखलढुंगाको चिशंखुवागढी गाउँपालिका–४ का ३७ वर्षीय प्रेम राई छन् ।
उक्त समूहले फागुन २० मा राति ९ बजेतिर सतिस सिंह कुँवरलाई सामाजिक सञ्जालमार्फत आइफोन लगायतका इलेक्ट्रिक सामान किन्ने भन्दै सामान लिएर ३२ क्याफेमा आउन भनेका थिए ।
सामान लिएर त्यहाँ आएका कुँवरलाई उनीहरुले आईडी कार्ड र रेडियो सेटसमेत देखाई आफू प्रहरीको बताउँदै धम्क्याएको र लुटपाट गरेको परिसरले जनाएको छ ।
उनीहरुको साथबाट नगद २१ हजार, आइफोन ६ थान, एप्पल सिरिज ७ थान, एप्पल वाच २ थान, एन्ड्रोइड फोन १ थान, हेडफोन १ थान, एअरड्रप १ थान र राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्रसमेत बरामद गरेको परिसरले उल्लेख गरेको छ ।