गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले पेस गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्नेक्रममा गणपूरक संख्या एकीन गरिएको थियो ।

सभामुख देवराज घिमिरेले सांसद सुवालले पेस गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्र्ताैलाले गणपूरक संख्या एकीन गरेर निर्णयार्थ पेस गर्न माग गरे । सोहीअनुसार सभामुख घिमिरेको निर्देशनमा तीन मिनेट घण्टी बजाएर उपस्थित सांसदको गणना गरियो ।

तर, कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेस गर्दा आवश्यक पर्ने एक तिहाइ सांसदको संख्या ६९ हुनुपर्नेमा ६५ जना मात्र सांसद उपस्थित भएपछि सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *