

कुलोमा गाडेको अवस्थामा टाउको नभएको शव भेटियो

कपिलवस्तु । गाडिएको अवस्थामा पुरुषको टाउको नभएको शव फेला परेको छ ।
कपिलवस्तुको पिपरी गाउँदेखि दक्षिणतिर गहुँखेतको बीचमा रहेको कुलोमा गाडिएको अवस्थामा शव फेला परेको हो ।
हत्या गरेर घटना लुकाउने उद्धेश्यले शव गाडिएको अनुमान गरिएको छ । घटना प्रकृति र शव हेर्दा ३ दिन भएको हुन सक्ने अनुमान गरिएको छ ।
आइतबार साँझ ६ बजेतिर कोदहवा चोकदेखि करिब ५ सय मिटर दक्षिण कुलोमा घुँडाको थोरै भाग देखिएको शव स्थानीयले देखेका थिए ।
त्यसपछि वडा अध्यक्ष रवीन्द्र तिवारीले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी तत्कालै घटनास्थल आएर खनेर हेर्दा घुँडाको भाग देखिएपछि घटनास्थल सुरक्षित गरेर सोमबार बिहान खनेर पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ती पुरुषको उमेर अन्दाजी करिब २५/२६ वर्ष रहेको प्रहरीको अनुमान छ । ती पुरुषको हत्या गरिएको ठाउँ र गाडिएको ठाउँ करिब ढाई सय मिटर फरकमा रहेको प्रहरीले जनाएको छ ।
टाउको भने अझै फेला नपरेको प्रहरीको भनाई छ । घटनास्थलमा बुटवलबाट तालिम प्राप्त कुकुरसहित टोली परिचालन गरेर अनुसन्धान थालेको छ । शव पोर्स्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।