

पिकनिक जाँदा खाना सर्किएर मेयरका स्वकिय सचिवको मृत्यु

मन्थली । रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले बताए ।
रामेछाप नगरपालिकाका कर्मचारीले रामेछाप–७, सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो ।
पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलाई काठमाडौं पठाउन हेलिकोप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको हो ।
सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर–७ का वडाध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ ।