नेपालले गर्यो क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्विप’, अनिल र भीमले ठोके शतक
काठमाडौं – नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले जितसम्म डोहोर्याए ।
अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।