‘प्यारी श्रीमती तारा ! रमेशले श्रीमतीको गर्मीलाई शीतल बनाउन तिमीलाई बिधुवा बनायो’

काठमाडौं । दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको हो । उनले आज बिहान फेसबुकमा स्टाटस लेख्दै आत्महत्या गर्न लागेको जानकारी दिएका थिए । प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा उनको शव भेट्टाएको हो ।

उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए। उनी चढेको कार पनि जलेको छ। उनले कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ।

उनले विश्वका विभिन्न देशहरुमा एक सय ३४ पटक रगत र ७२ पटक रक्ततत्व प्लेलेट्स दान गरेका छन् । मैनालीले विश्वका विभिन्न देशमा पुगेर रक्तदान गर्न उत्प्रेरणा जगाउने अभियान चलाउँदै आएका थिए ।

काभ्रे घर भएका मैनाली सन् २००७ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन् ।

यस्तो छ उनको सुसाइड नोट:
प्यारी श्रीमती तारा,
धेरै धेरै माया !

आज म परलोक जाँदैछु। सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ। मानिसलाई मार्न हतियार चाहिँदो रहेनछ, शब्द पनि काफी हुँदो रहेछ। जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ। मेरो आफ्नै स्वास्नीको सामुन्ने तातो न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, संस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला ! यसरी उसले आफू असल परिवार र संस्कार भएको उदाहरण पनि दियो। त्यो पनि हामी सुत्न लागिरहेको समयमा रातको १०:१५ बजे।

तिनीहरुका ९-१० बर्षकी छोरी, १३-१४ वर्षका छोरासहित हाम्रो घरमा आएर गरेको झगडाको दूरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भइहाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला ! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ।

रमेश ग्रिडी र सेल्फिस त छँदै थिए, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थिएन। उसले आफ्नो स्वास्नीको गर्मीलाई शीतल बनाउन तिम्रो घरबार बिगार्‍यो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो। यत्रो ठूलो नोक्सान बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाई उसले सुनकै घर बनाएर दिए पनि पूर्ति हुन सक्ला त?

छोरीको बिहे सकिन्जेलसम्म म घाइते भइ बाँचिरहेको थिएँ। मेरो कारणले छोरीको विहे एक वर्ष ढिलो नहोस् भन्नेमा पनि सचेत थिएँ। बिहे सम्पन्न भयो। ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ। कारलाई कतै लुकाएर राख्न भुलेँछु। छोराले सोध्यो, ‘यो कारमा को आएको छ’ ? त्यसपछि यो कार लुकाएँ। जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु, तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ। अनि मेरो आँखा रसाउँथे। मन रुन्थ्यो। हरेक पल बाहिर निस्कन खोज्थेँ, फेरि उही हुन्थ्यो। आज मनलाई बेस्मारी बाँधेर निस्केँ। अब म केही बेरमा परमधाम पुग्नेछु। घरमा तिमी र छोरोमात्रै हुनेछौ। केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ। न आत्तिनु। तिम्रो पीडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन्।

गत वर्ष अमेरिकामा ५० हजार जना राजीखुशी परलोक गएछन्। अग्निको बाटोबाट १ प्रतिशतभन्दा कम गएका रहेछन्। यो बाटो ज्यादै नै पीडादायक छ। आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनीय चित्कार, दु:खले रमेश र अस्मिताको मनलाई धेरै शितल र सुखानुभूति हुन्छ नै होला। त्यही नै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ।

मेरो दु:खद् निधन भए पनि मेरा शुभचिन्तकज्यूहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दिइरहनु हुनेछ भन्ने लागेको छ। ताकि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन्।

मैले विगत ३६ वर्षसम्म गरेका कर्म-धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले द गिफ्ट अफ लाइफप्रकाशित गरेको छ। सायद त्यस पुस्तकबाट रक्तदानका बारेमा केही सिकुन्। प्रेरित हुन्। अरु के भनम् ! मसँग यत्रो पीडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ। दुखेको मनलाई लुकाइ राखेँ। आज विगत एक वर्षदेखिको दु:ख सकिँदै छ।

, तिमी, छोरा-छोरी (अमुन-अमित) र आमामा धेरै कृतज्ञ छु। तिमी धेरै असल श्रीमती रह्यौ। छोरा-छोरी पनि असल नै भए। घर, जागिर पनि राम्रै थियो। नराम्रो मानिसको कुदृष्टि पर्‍यो। सबै सत्यनास भयो। अब मैले बारबार जन्म लिनु नपरोस्। यदि परेमा फेरि पनि तिमीलाई नै पाउँ। जस्तोसुकै गाह्रो परिस्थिती आए पनि हतोत्साहित नहुनु। तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ति मिलोस्।

तिम्रो श्रीमान्

ॐ नम शिवाय !

ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *