

प्रहरी जवान पिमलाल जसले गरे श्रीमती र छोराको हत्या

दाङ । दाङमा एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आज (आइतबार) बिहान २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको सलले घाँटी कसेर हत्या गरेको जनाइएको छ ।
‘नेपालगन्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा बास बसेका थिए। आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैंले स्वीकार गरेका छन्।
श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए।
रुन्टीगढी गाउँपालिका–९, रोल्पा स्थायी घर भएका नेपाली नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए।