

आज माघ १६ अर्थात् शहीद दिवस, शहीदको सम्झनामा विशेष कार्यक्रम

काठमाडौं । आज शहीद दिवस । प्रजातन्त्र स्थापनाका लागि ज्यान आहुती दिने चार शहीदको सम्झनामा विशेष कार्यक्रम गरी मनाइदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ ।
यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।
हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने काम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली र माघ १३ गते धर्मभक्त माथेमालाई सिफल तथा गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।
क्रान्तिमा नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर वन्दी बनाइएको थियो । यो घटनापछि कारागारमै शहीद दिवस मनाउन थालिएको थियो । २०११ सालमा नेपालको पहिलो राजनीतिक दल प्रजापरिषद्ले शहीद सप्ताह मनाएको थियो ।
त्यसअघि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हर्षोल्लासमा विसं २००९ सालमा तत्कालीन राजा त्रिभुवनको अध्यक्षतामा शहीद सप्ताह मनाइएको थियो। माघ १६ मा शहीद दिवसका अवसरमा हरेक बिहान शान्तिबाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना हुँदै आएका छन् ।
प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ सरकारी अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको टोली शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएका छन् ।
४ जना शहीदको सम्झनामा मनाइने दिवस पछिल्लो कालखण्डमा जथाभावी रुपमा शहीदहरुको संख्या बढाउने प्रचलनका कारण ओझेलमा परेको कतिपयले बताउने गरेका छन् ।