‘भाग्य’ले अमेरिकाको साटो जेलमा पुर्‍याएका ‘अभागीहरू’…

काठमाडौं । बच्चादेखि वृद्धसम्मका देश/विदेशको नाम सुनेका नेपालीहरु तपाईं कुन देश जान चाहानुहुन्छ भन्यो भने पहिलो उत्तर अमेरिका भन्ने आउँछ । नेपाली मात्र होइन विश्वकै अधिकांश देशका मानिसहरुको पहिलो चाह हुन्छ जीवनमा एकपटक भए पनि अमेरिका पुग्नै पर्छ भन्ने ।

त्यस इच्छा एवं चाहनालाई अमेरिकी सरकारले डिभि चिठ्ठाको माध्यमबाट पूरा गरिदिने गरेको छ । नेपालबाट पनि हरेक वर्ष चार हजारको हाराहारीमा डिभिबाट अमेरिका जाने गरेको जनाइन्छ ।

डिभि भर्नका लागि कुनै पनि शैक्षिक बन्देज नभए पनि परिसकेपछि भने प्लस २ पास गर्नुपर्ने पर्ने प्राबधान रहेकोले कतिपयले नेपालीहरुले नक्कली सर्टिफिकेट बनाएर अमेरिका जाने प्रयास गर्ने गरेको पाइएको छ ।

पछिल्ला दिनमा यस्ता घटना बढ्दै गएको देखिएको छ । नेपाल प्रहरी र अमेरिकी दूताबासको पहलमा पछिल्ला दिनमा १० जना डिभिबाहकलाई नक्कली सर्टिफिकेट बनाएकै कारण पक्राउ गरेको छ । उनीहरु डिभि चिठ्ठा परिसकेपछि अमेरिका जाने सपनामा नक्कली सर्टिफिकेट बनाएबापत जेल जान बाध्य भएका छन् ।

अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको सबैला–१२ का ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुरको मनहरी–९ की ३३ वर्षीया भगवती उप्रेती, लमजुङको बेसीसहर–५ की २४ वर्षीया रोना गुरुङ, ललितपुरको ललितपुर–१४ का २५ वर्षीय सञ्जय महर्जन रहेका छन् ।

यसैगरी, चितवनको भरतपुर–१२ का २५ वर्षीय सुमन ढकाल, सिराहाको सिराहा–१ का २९ वर्षीय सक्षम अर्याल, सर्लाहीको लालबन्दी–४ का ३५ वर्षीय सुरज अधिकारी, दोलखाको चरिकोट–९ का २६ वर्षीय अशोक श्रेष्ठ, पर्साको वीरगञ्ज–१० का २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाहीको हरिवन–९ का २६ वर्षीय स्वर्णिम दाहाल पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

इलेक्ट्रिक डाइभरसिटी भिसा (ई-डिभी) लोटरी २०२३ को नतिजामा लोटरी परेर कागज नपुगेपछि नक्कली प्रमाणपत्र बनाउने समूह फेला परेको प्रहरीले जनाएको छ ।

डिभी परेपछि प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिले भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको खुलेपछि उनीहरू पक्राउ परेका हुन्।

प्रहरीको टोलीले विशेष सूचनाको आधारमा सुरुमा महाराजगञ्जस्थित अमेरिकन दूतावासबाट विवेक उपाध्यायसहित तीन जनालाई नियन्त्रणमा लिएर जाँचबुझ गर्दा अन्य सात जना पक्राउ परेका हुन् ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई भाग्यले अमेरिका पुर्याउन खोजेको थियो, तर त्यही ‘भाग्य’ले परेको चिठ्ठाको पूर्णताका लागि नक्कली सर्टिफिकेट बनाएकै कारण जेल पुर्याएर ‘अभागी’ सावित गरिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *