कांग्रेसद्वारा तरुण दलका कार्यकर्ता सिंहको हत्यारालाई कारबाहीको माग

काठमाडौं । नेपाल तरूण दलका बझाङस्थित कार्यकर्ता अमृत सिंहलाई खुँडा प्रहार गरी हत्या गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्तालाई कारवाही गर्न नेपाली कांग्रेसले माग गरेको छ।
बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का तरुण दलका स्थानीय नेता २७ वर्षीय सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

छविसपाथिभेरा ३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कंने क्रममा मंगलबार साँझ उहाँलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको कांग्रेसको भनाइ छ।

‘कांग्रेस यस घटनाको घोर निन्दा र भर्त्सना गर्दछ। घटनामा संलग्न आक्रमणकारीहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय हो। पछिल्लो क्रममा नेकपाका कार्यकर्ताहरुबाट नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका घटनाहरु आइरहेका छन्,’ कांग्रेसले भनेको छ, ‘नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौति दिन थालेका छन्। भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्‍याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ।’

विज्ञप्तिः

Leave a Reply

Your email address will not be published. Required fields are marked *