Beauty with Brain: जो बन्नेछन् लोकसेवा पढ्नेका लागि प्रेरणाका स्रोत

रोल्पाकी खुशी, बाजुराकी छायाँ र गुल्मीकी मनिषाले एकैवर्षमा क्रमशः ७, ६ र ५ पटक लोकसेवा पास गरेका छन्



काठमाडौं । रोल्पाकी खुशी, बाजुराकी छायाँ र गुल्मीकी मनिषा, पछिल्लो समय सञ्चारमाध्यममा आएका तीन नाम । सुन्दा यी ३ नाम सामान्य नै लाग्छ, तर यी तीनको कर्म भने असाधारण जस्तै लाग्छ ।

२२ औं पटकमा लोकसेवाको अधिकृत पास गरेका बनेपाका कञ्चनराज गिरी र १९ औं पटकमा पास गरेका पंखबहादुर शाहको भन्दा ठ्याक्कै फरक अनुभव यी ३ युवतीहरुले गरेका छन् । यी ३ मध्ये खुशीले एकैवर्षमा ७ पटक लोकसेवा पास गरेकी छिन् भने, बाजुराकी छायाँले ६ पटक र गुल्मीकी मनिषाले ५ पटक नाम निकालेर आफूलाई अब्बल भएको पुष्टी सबैमाझ साट्न सफल भएका छन् । यि तीनैजना २५ वर्षभन्दा मुनि उमेरका रहेका छन् । पछिल्लो समय विदेशमोह बढीरहेको नेपालमा यी ३ जनाबाट नेपालमै बस्न चाहनेहरु पनि छन् है भन्न सकिने अवस्था रहेको छ ।

खुशी बुढा मगर, दुर्गम रोल्पाको परिवर्तन गाउँपालिकामा २१ वर्ष अघि जन्मिइन् । बाबुआमाका ७ सन्तानमध्येकी एक छोरी खुशीले दिएका लोकसेवा आयोगका पछिल्ला ७ परिक्षामा सफल भएर आफ्नो अब्बलताको नमूना पेश गरेकी छिन् । उनका अनुसार सुरुमा बैशाखमा उनले कर्णाली प्रदेशले लिएको परीक्षाको पाँचौं तह लिखितमा नाम निकालेकी थिइन् । त्यसपछि जेठमा कर्णाली प्रदेशकै चौथो तहमा नाम निकालेर कुशे गाउँपालिका जाजरकोट गइन् । त्यसपछि खुसीले लुम्बिनी प्रदेशको पाँचौं तहमा र लुम्बिनीकै स्थानीय तहको परीक्षामा नाम निकालिन् । पाचौंपटक उनले सुदूरपश्चिममा पाँचौं तहमा नाम निकालेकी थिइन् । यस्तै छैठौंपटक कोशीको चौथो तह र सातौंपटक संघमा नाम निकालेको उनले बताइन् । संघीय लोकसेवाले यहि ९ गते अन्तर्वार्तामा बोलाएको बताउने खुशीले सफल भए संघीय सरकारअन्तर्गत नै रहेर काम गर्ने इच्छा व्यक्त गरेकी छिन्  । उनी अहिले नवलपरासी जिल्लाको बर्दघाटमा कार्यरत छिन् ।

छायाँ कुमारी जैशी, नेपालको सुदूरपश्चिमको बाजुरा जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं. ६ माल्ताका महानन्द जैसीका ७ सन्तानमध्येकी चौथो सन्तान छायाँले पनि एकैवर्षमा ६ पटक लोकसेवाको परिक्षा गरेर आफ्नो उत्कृष्टताको प्रमाण पेश गरेकी छिन् । उनी अहिले कोशी प्रदेशको उदयपुर जिल्लाको ताप्ली गाउँपालिकामा कार्यरत छिन् । उनले भेटेनरी चौथो तहमा कोशी प्रदेश सिफारिस भएकी छायाँले लोकसेवा आयोगको पहिलो परीक्षा कर्णाली प्रदेशबाट सफलता प्राप्त गरिन् तर अन्तर्वार्तामा भने वैकल्पिकमा निस्कियो । लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते रिजल्ट आएर सिफारिस भइन् । त्यसपछि पनि पौष २५ गत लुम्बिनि प्रदेशमा भेटेनरी चौथो तह, पौष ९ गते संघिय लोकसेवा आयोग पाँचौ तह, पौष ३ गते बाग्मती पाँचौ तह र असोज १४ गते सुदूरपश्चिम प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी छिन् । चार परीक्षाको मौखिक परीक्षाफल प्रकाशित हुन बाँकी छ ।

त्यस्तै उत्कृष्टताको पछिल्लो समय सञ्चारमाध्यममा छाएकी अर्को नाम हो मनिषा जिसी । वास्तविक नाम विष्णु घर्ती रहेकी मनिषाले एकै वर्षमा ५ पटक लोकसेवामा नाम निकालेकी छिन् । उनी पछिल्लो समयमा माथिका दुई खुशी र छायाँभन्दा सञ्चारमाध्यममा छाएकी उत्कृष्ट एक पात्र हुन् । उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत् स्वास्थ्य सेवातर्फ पाँचौं तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह उत्तीर्ण गरेकी हुन्।

यी ३ बीचको भने अचम्मैको संयोग छ । तीनै जना प्राविधिक विषयका विद्यार्थी हुन् र जागिरे पनि । खुशी मत्स्य प्राविधिक हुन् भने छायाँ पशुसेवा प्राविधिकका रुपमा कार्यरत छिन् भने मनिषा भने स्वास्थ्य सेवा अन्तर्गतको नर्सिङकी जागिरे हुन् । अनि अर्को संयोग यी तीन नै नेपालको शहरी क्षेत्रका नभएर ग्रामीण क्षेत्रका हुन् । तीनै जना मानसिक रूपमा जति अब्बल छन् त्यस्तै सुन्दर छन् शारिरीक रूपमा पनि ।

नेपालमा पढ्यो र आफूमा अठोट भयो भने सबैकुरा पूरा हुने यिनीहरुको नतिजाबाट छर्लंग भएको छ ।

पछिल्लो समय प्लस २ पढ्ने बित्तिकै विदेशीने परम्परा रहेको नेपालमा यि ३ जनाको नतिजाले नेपालमै पनि केही गर्नुपर्छ र सकिन्छ भन्ने कुराको उदाहरण बन्न सक्छ । त्यस्तै माथि उल्लेख गरिएका २२ औं र १९ औं पटकमा लोकसेवा पास गरेका गिरी र शाह २ जनाबाट धैर्यता र लगनशीलताको पाठ नेपाली समाजले सिक्नुपर्ने देखिएको छ । एकदुईपटक असफल हुँदैमा हतोत्साही बन्न नहुने उदाहरण उनीहरुले समाजमा पेश गरेका छन् । -हुलाकपत्रडटकमबाट