कावासोतीकै आकर्षंक केन्द्र बन्न सक्ने टरुवा वनदेवी ताल



नवलपुर । गण्डकी प्रदेशलाई छिमेकी मुलुकसँग जोड्ने एकमात्र जिल्ला पूर्वी नवलपुरमा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।

कतिपय पर्यटकीयस्थलहरु मानव निर्मित छन् भने कतिपय प्राकृतिक नै रहेका छन् ।

पछिल्ले समय मानवनिर्मित सिजी धामले देशभरका साथै विदेशी पर्यटकहरुको ध्यान खिच्न सफल भए पनि प्राकृतिक पर्यटकीयस्थलका रुपमा परिचित मौलाकाली, डेढगाउँ अकलादेवी, देवचुली–बरचुली, घुमारीघाट, सदरमुकाम कावासोतीभित्रै पर्ने टरुवा वनदेवी ताल पर्यटकीय स्थल हुन् ।

सदरमुकाम कावासोती नगरपालिकाको वडा नं. ७ टरुवामा रहेका वनदेवी तालमा कमलका फूलहरु फुल्ने गरेका छन् । त्यससँगै आन्तरिक पर्यटकहरुको संख्या विस्तारै बढ्दै जान थाले पनि ताल संरक्षणको अभावमा अपेक्षित रुपमा पर्यटकहरु भित्र्याउन नसकिएको स्थानीय मनिराम महतो बताउँछन् ।

कमलका फूलहरु फुल्ने यस तालको संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि त्यसको पूरा उपयोग नभएको स्थानीयले बताउँछन् । स्थानीय जनप्रतिनिधि एवं नगरपालिकाले तालको महत्वअनुसारको चासो नदिएको स्थानीयहरुले गुनासो गरेका छन् ।