सँगै बाँच्ने र मर्ने कसम खाएका यी ढकाल दम्पती, जसलाई कर्णालीले सँगै निल्यो…



अछाम । सात जुनीसम्म सँगै बाँच्ने र मर्ने कसम खाएर बिहेको जग्गेमा सात फन्को घुमेका अछाम पञ्चदेवलका खगेन्द्र र मैसराले अन्तिम सास पनि सँगै फेरेका छन् ।

जन्मथलोबाट छोराछोरी भेट्नका लागि बर्दियाको भुरी गाउँ जाँदै गरेका अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकाल चढेको मोटरसाइकल कर्णाली नदीमा खस्दा उनीहरु दुवैले ज्यान गुमाएका हुन् ।

५ वर्षअघि बस दुर्घटनामा खकेन्द्रका बुवा मोतीरामलाई गुमाएका ढकाल परिवारमाथि अर्को बज्रपात पर्यो ।

बुधवार साँझ कैलालीको मोहन्याल गाउँपालिका –७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा ढकालले चलाएको भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेपछि उनीहरु दुवैले ज्यान गुमाए । उनीहरू नजिकिँदै गरेको माघे संक्रान्ति छोराछोरीसँगै मनाउनका लागि अछामबाट बर्दियाँ जाँदै गरेकाे जनाइएको छ ।

बुधवार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले मृत अवस्थामा उद्धार गरिएको थियो ।

अहिले मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

मृतक ढकालका दुई छोरा एक छोरी बर्दियाको भुरीगाऊँमा छन् ।