

आज राष्ट्रियसभाका लागि उम्मेदवारी दिएकाविरूद्ध उजुरी दिने सकिने

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ ।
निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ ।
राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
यही पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ ।
मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।