

सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।
बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजालसमा उक्त मुद्दाको सुनुवाइ जारी छ ।
आइतबार र बुधबार जाहेरवाला र सरकारी वकिलले बहस गरेका थिए । बुधबार मुरारी सापकोटाले बहस थालेका थिए । हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए । सन्दीपका तर्फबाट नौ वकिलले बहसका निम्ति नाम लेखाएकामा बिहीबार ६ जनाको बहस सकिएको छ ।
सरकारी वकिलबाट दुई र जाहेरवालाबाट आठजनाले बहस गरिसकेका छन् । सन्दीप पक्षको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।
सन्दीपविरुद्ध ०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।