बढुवा भएका सईहरुलाई धमाधम दर्ज्यानी चिन्ह



काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएकाहरुलाई धमाधम दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले हालै देशभरका विभिन्न कार्यालयहरुमा कार्यरत ५१३ जना प्रहरी सहायक निरीक्षक (असई) हरुलाई सईमा बढुवा गरेको थियो ।

नेपाल प्रहरीमा बढुवा भएका कार्यस्थलमा खटिएका मातहतका कर्मचारीहरुलाई जिल्ला र तालुकदार कार्यालय प्रमुखले दर्ज्यानी चिन्ह लगाइदिने प्रावधान छ । सोही अनुरुप जिल्ला, परिसर, इलाका प्रहरी कार्यालयलगायतका कार्यालयहरुले आफू मातहत रहेका कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिने गरेका छन् ।

यसैअनुरुप काठमाडौं जिल्ला परिसर प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भूपेन्द्र खत्रीले हालै परिसर मातहतमा रहेर काम गर्दै आएर बढुवा भएका कर्मचारीलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए

त्यस्तै ललितपुर परिसर प्रमुख एसएसपी सिद्धिविक्रम शाहले पनि आफू मातहतका कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए ।

त्यसबाहेक उपत्यका बाहिरका विभिन्न कार्यालयहरुमा पनि दर्ज्यानी चिन्ह प्रदान गरिँदैछ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका सईहरुलाई सरुवा तथा पदस्थापन समेत गरिसकेको छ ।