

मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्यामा संलग्न जिल्ला इन्चार्ज विक पक्राउ

मोरङ । नेपाल प्रहरीले मोरङ जिल्लाका मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक विशेष टोलीले विकलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार जानकारी दिएको छ । प्रहरीले विकले गत महिना मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।
उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको प्रहरीले जनाएको छ ।