

यी नासुलाई छुटाउने भन्दै यी दुईले लिए नासुका बाबुसँग करोड रुपैयाँ, परे सिआईबीको फन्दामा

काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयस्थित भेपमा सुन ल्याएको प्रकरणमा पक्राउ परेका सरकारी नायब सुब्बालाई छुटाइदिन्छु भन्दै ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–१ रानीबन बस्नेहरु भोजपुर हतुवागढी गाउँपालिका-५ घर भएका २६ वर्षीय रितु राई र बर्दिया पाताभार गाउँपालिका–१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।
आपराधिक विश्वाशघात र संगठित अपराध समेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराई दिन्छु भन्दै खड्काका बुवासँग पटक-पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
साथै पक्राउ परेका उपर आपराधिक विश्वाशघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।