

एनसेल बिक्री प्रकरणः सार्वजनिक लेखा र अर्थ समितिमा आज छलफल, अर्थले बोलायो गभर्नर

काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीबारे सार्वजनिक लेखा समितिले आज छलफल गर्ने भएको छ ।
निजी टेलिकम कम्पनी एनसेलको मुख्य लगानीकर्ता आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेपछि यसमा आर्थिक अनियमितता भएको आशंकामा समितिले दिउँसो २ बजे छलफल थाल्ने भएको हो ।
आजियाटाले पाँच करोड डलरमा हाल एनसेलकै साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति भएको छ ।
तर, नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी दिइएको छैन । यसबारे समितिले आज बैठकमा छलफल गर्न लागेको हो । यस विषयमा लेखा समितिले आइतबार सम्बन्धित निकायलाई कागजात उपलब्ध गराउन पत्र पठाएको थियो।
सरकारले छानबिनका लागि निर्देशन दिइसकिएको भन्दै दोषी पाइए कारबाही गर्ने स्पष्ट पारिसकेको छ । यस्तै प्रतिनिधि सभाको अर्थ समितिले पनि बुधबार यसबारे छलफल गर्न बैठक डाकेका छन् ।
सो समितिले पहिलो बैठकमा प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालसहितलाई र दोस्रो बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ।