

रूसी सेनामा भर्ती भएका ३ नेपालीको युक्रेन युद्धमा मृत्यु

काठमाडौं । रूसी सेनामा भर्ती भएर युक्रेन युद्धमा रसियाको तर्फबाट खटिएका तीन जना नेपालीको मृत्यु भएको छ।
युक्रेनविरूद्धको युद्धका क्रममा उनीहरूको गत कात्तिक २९ गते मृत्यु भएको रूसस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलामको इलाम–५ का गंगाराज मोक्तान छन्।
नेपाली दूतावासले शवको यथाशीघ्र व्यवस्थापनका लागि मृतकका परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ।
रूस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू रूसी सेनामा आबद्ध भएको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको हो।
मृतकमध्ये दोलखाका राजकुमार यसअघि नेपाल प्रहरीमा कार्यरत रहेको पनि खुलेको छ ।