असई सुवेदीको आत्महत्या शंकास्पद भन्दै प्रहरीमा उजुरी, यस्तो अवस्थामा भेटियो शव



हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालका पीएसओ प्रहरी सहायक निरीक्षक (असई) यमबहादुर सुवेदीको आत्महत्या शंकास्पद देखिएको भन्दै उनका परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

मकवानपुरको हेटौंडाको पुण्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेका सुवेदीको शवको प्रकृति हेर्दा शंकास्पद देखिएकोले उनको परिवारले प्रहरीमा उजुरी दिएका हुन् ।

घाँटीमा पेटीको पासो देखिए पनि उनको शरीर जमिनमा लत्रिएको र पोष्टमार्टमका क्रममा शरीरमा नीलडाम देखिएको भन्दै परिवारले अनुसन्धानका लागि निवेदन दिएको जनाइएको छ ।

हेटौंडा अस्पतालमा गरिएको पोष्टमार्टमको क्रममा पनि उनको घाटीको हड्डी भाँचिएको र खुट्टा तथा जिउमा नीलडाम देखिएको भन्दै उजुरी दिइएको मृतकका भाई इन्द्र सुवेदीले जनाए ।

असई सुवेदी ड्युटी सकेर साँझ ६ः३७ मिनेटमा सहिद स्मारकको गेट पार गरेको सीसीटीभी फुटेजमा देखिन्छ । मृतकका दुई छोरी र एक श्रीमती छन् ।