रूपेशको हत्यामा संलग्न ५ जना सार्वजनिक, मुख्य योजनाकार पूर्वप्रेमिका राधा

बारा । बारा कलैया उपमहानगरपालिका-६ मदरसा टोलका रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकारसहित पाँच जनालाई सार्वजनिक गरेको हो।

प्रहरीले यस घटनामा मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की २२ वर्षीया राधा गुप्ता रहेको जनाएको छ। उनी बाल एकता स्कुलकी पूर्वलेखापाल समेत हुन्।

यस्तै, सोही विद्यालयमा वरिष्ठ लेखापालको भूमिकामा रहेका सोही ठाउँका ३४ वर्षीय जामिल अख्तर र कलैया-९ रामपुरका २६ वर्षीय रियाज अंसारी पक्राउ परेका छन्। उनीहरूले यस घटनामा सहयोगी भूमिका खेलेको कार्यालयले जनाएको छ।

यस्तै, प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गर्ने समूहका दुई भारतीय नागरिकहरू पनि पक्राउ परेका छन्।

भारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार पक्राउ परेका छन्। उनीहरूले खबर संकलन र आदानप्रदान गर्ने गर्थे। गोली प्रहार गर्ने चार जना भने फरार रहेको प्रहरीले जनाएको छ।

भारत मोतिहारीका २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी छन्।

उनीहरू गत सोमबार दिउँसो पौने १ बजे मदरसा टोलमा मोटरसाइकलमा आएर प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबीका कारण हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी राधा गुप्ता तीन वर्षदेखि भारतीय नागरिक मनोज गुप्‍तासँग प्रेममा रहेको पनि देखिएको जनाएको छ। मनोज पनि विवाहित नै रहेको प्रहरीले जनाएको छ।

यता प्रिन्सिपल स्वर्णकार र राधाबीच पनि सम्बन्ध रहेको देखिएको हो।

त्यही विषयलाई लिएर राधा, मनोज र रूपेशबीच विवाद र झगडा भएकाले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *