राष्ट्रसंंघ महासचिव गुटेरेस नेपालमा, यस्तो छ उनको ‘सेड्युल’

काठमाडौं – संयुक्त राष्ट्रसंंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि शनिबार राति नेपाल आइपुगेका छन्।

गुटेरेसले आइतबार नै उच्चस्तरीय राजनीतिक भेटवार्ता शुरु गर्नेछन्। उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनको कार्यालय शीतलनिवास जाने तय भएको छ। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारस्थित उनकै कार्यालयमा भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइतबार नै गुटेरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तापछि उनले पाटन दरबार क्षेत्रको अवलोकन गर्नेछन्।

प्रधानमन्त्री दाहालले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ साँस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि गुटेरेस पहिलोपटक नेपाल आइपुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *