

जीन्यूजसँग प्रधानमन्त्री ओली, ‘नेपालले छिमेकीविरुद्ध कार्ड खेल्दैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुक भूगोल र जनसंख्याका हिसाबले सानो–ठूलो नहुने बताएका छन् । भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा उनले एउटा भौगोलिक क्षेत्रमा रहेका दुई छिमेकबीच सार्वभौम हिसाबले सम्बन्ध हुनुपर्ने जिकिर गरेका छन् । ‘यो पुरानो जमाना होइन, यो स्वाधीनता र पारस्परिक सम्मानको समय हो,’ उनले भने ।
कुनै पनि विषयमा बहस हुँदैमा त्यसलाई अन्यथा मान्न नहुने पनि ओलीको भनाइ थियो । ओलीले त्रेतायुगदेखि नै दर्शनको सुरुवात भएको हुँदा स्वस्थ बहस हुनु राम्रो भएको बताए । उनले त्यस्तो बहस सत्य बाहिर ल्याउनका लागि हुनुपर्नेमा जोड दिए ।
भारतलाई ठूलो दाजु मान्न अस्वीकार गरेको भन्ने प्रश्नमा ओलीले उमेरमा मोदी ठूलो भए पनि प्रधानमन्त्रीका रूपमा एउटा सार्वभौम मुलुकका हिसाबले सम्बन्ध रहने बताए । ‘मोदीजीलाई व्यक्तिगत रूपमा सम्मान गर्छु तर देश सानो–ठूलो हुँदैन,’ उनले भने । तर, यसलाई मोदीलाई सम्मान गरेन र बराबरी ठान्यो भनेर गलत अर्थमा बुझ्ने गरेको उनले बताए ।
प्रधानमन्त्री ओलीले भारत र चीन दुवै छिमेकी भएको हुँदा नेपाल एक–अर्काविरुद्ध कार्ड खेल्ने पक्षमा नरहेको प्रस्ट पारे । ‘एक–अर्काविरुद्ध कार्ड खेल्ने कुरा होइन, यसले राम्रो गर्दैन, कार्ड खेल्ने र छक्याउने काम तुरुन्त बन्द गर्नुपर्छ,’ उनले भने । दुवै छिमेकी विकासमा अगाडि भएकाले नेपालका लागि राम्रो अवसर भएको समेत उनले उल्लेख गरे ।
चीन र भारतबीच लद्दाखको गलवान उपत्यकामा विवाद र नेपालले नयाँ राजनीतिक नक्सासँग कुनै सम्बन्ध नरहेको समेत ओलीले प्रस्ट पारेका छन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।