

उपत्यकामा चल्यो गोली, प्रहरीको गोली लागि सिन्धुलीका घलान घाइते, ३ जना नियन्त्रणमा

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी कपनबाट ३ जनालाई नियन्त्रणमा लिएको छ । महाशाखाका एक अधिकृतका अनुसार डलर देखाएर लुटपाट गर्ने गिरोहका ५ जना रहेको सूचना पाएपछि नियन्त्रणमा लिनका लागि गएको टोलीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाउँदा १ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार प्रहरीको गोली लागी सिन्धुलीका अमर घलान घाइते भएको जनाइएको छ । ५ जनाको समूहमा रहेका उनीहरुमध्ये २ जना फरार भएका छन् भने घलानसहित ३ जना पक्राउ परेका छन् ।
मशाशाखाका अनुसार उक्त आपराधिक समूह लामोसमयदेखि उपत्यकाका विभिन्न क्षेत्रमा डलर देखाएर लुटपाट धन्दा चलाउँदै आएका थिए । महाशाखाको विशेष अपरेशनमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
गोली लागेर घाइते भएका घलानको साथबाट एक थान पेस्तोल बरामद गरेको महाशाखा प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले बताए । गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ ।