

पर्वतमा खोलाले जिप बगाउँदा बेपत्तामध्ये २ को शव फेला, क-कस्को भेटियो शव ?

पर्वत । पर्वतको तमादी खोलाले जीप बगाउँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव फेला परेको छ ।
शनिवार साँझ बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८को सिमामा पर्ने तमादी खोलाले बगाउँदा जीपमा सवार तीन जना यात्रु बेपत्ता भएका थिए।
बेपत्तामध्ये दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटनास्थलदेखि करिब ३ सय मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ ।
जीपमा सवारमध्ये रुपन्देहीका गोपाल बस्याल र विजय पौडेलको शव फेला परेको हो । उनीहरुको पारिवारिक श्रोतसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।
थप १ जनाको पहिचान हुन बाँकी छ । उक्त जिप क्षतिग्रस्त अवस्थामा घटनास्थलदेखि केही तल भेटिएको छ ।