

अमेरिकी सेनासँगको संयुक्त अभ्यास सम्पन्न

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबिचको चालिसौँ संस्करणको जोइन्ट कम्बाइन्ड एक्सचेन्ज ब्यालेन्स निल शुक्रबार सम्पन्न भएको छ । गत भदौ २४ गतेदेखि सुरु भएको संयुक्त अभ्यासमा ४२ जनाको सहभागिता रहेको थियो ।
उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान भएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले सहभागीहरूलाई अभ्यासको दौरान सिकेका सिपहरूलाई आफ्नो पेसागत क्षमता विकासमा सदुपयोग गर्न सुझाव दिए । उनले तालिम लगायतका क्षेत्रहरूमा पुर्याउँदै आएको सहयोग र सहकार्यको लागि संयुक्त राज्य अमेरिकी सेनालाई धन्यवाद ज्ञापन गरे ।
त्यस अवसरमा काठमाडौँस्थित अमेरिकी राजदूत डीन आर थोम्पसन ले सफलता पूर्वक अभ्यास सम्पन्न गर्ने दुवै देशका सहभागीहरूलाई बधाई दिएका थिए ।
समापन समारोहमा रथी, अधिकृतहरूका साथै अमेरिकी दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।