

सशस्त्र प्रहरीका बढुवा भएका ८४ डिएसपीलाई दर्ज्यानी चिन्ह

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएका अधिकृतहरुलाई भाद्र १८ गते प्रधान कार्यालयमा आयोजित समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को भाद्र १३ गतेको निर्णयले ८४ जना सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायव उपरीक्षकमा बढुवा भएका हुन् ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासलाई ध्यान राख्दै संगठनले कदम चालिरहेको बताउँदै पदोन्नतीसँगै थप भएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र लगनशिल भई त्रुटिरहित ढंगबाट सम्पादन गर्न निर्देशन दिए ।
उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको गरिमा र छविलाई उच्च बनाई राख्न निःस्वार्थ भावनाका साथ अघि बढ्नुपर्ने बताउनुहुँदै कार्यक्षेत्रमा आईपर्ने जस्तोसुकै कठिन परिस्थिती र चुनौतीहरुको समाना गर्न संगठनका राष्ट्रसेवकहरु एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
यसअघि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका ५६ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।