नक्कली प्रमाणपत्र प्रकरणः ६ कर्मचारी पक्राउलगत्तै सिटिजन्स बैंकका अन्य १० फरार



काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा जागिर खाएका थप १० कर्मचारी फरार भएका छन् ।

काठमाडौं प्रहरी परिसरको विशेष टोलीले बैंकका ६ जना कर्मचारीलाई सोमबार साँझ पक्राउ गरेको थियो ।

उनीहरू सिटिजन्स बैंकका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट छन् ।

उनीहरू पक्राउ परेसँगै थप १० जना कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल, चेतबहादुर थापासहित १० जना छन् ।

प्रहरीका अनुसार उनीहरूले भारतका विभिन्न विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र लिएको र उक्त शैक्षिक प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट समकक्षताको प्रमाणपत्र लिँदा किर्ते गरेको खुलेको थियो ।

त्यो बाहेक शैक्षिक प्रमाणपत्रसमेत नक्कली भएको आशंका प्रहरीले गरेको छ । प्रहरीले शैक्षिक प्रमाणपत्रबारेसमेत अनुसन्धान थालेको छ ।