कैदी मृत्यु प्रकरणः यी हुन् जेलभित्रै कैदी कुटेको अभियोगमा पक्राउ परेका असईसहित १० प्रहरी



संखुवासभा । संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन् ।

संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै कुटपिटबाट मारिएका थिए ।

सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरी स्रोतका अनुसार कारागारभित्रै कैदीमाथि लाठ्ठी र मुक्काले बारम्बार हानेको सीसीटिभी फुटेजमा देखिएको छ ।

प्रहरीले निरन्तर दिएको यातना र गरेको कुटपिटका कारण कैदीको मृत्यु भएको भन्दै छानबिन गरेर घटनाका दोषीउपर कडा कारबाही गर्न चौतर्फी दबाब परेपछि सीसीटीभी फुटेज मगाएर अनुसन्धान भएको थियो ।

कारागारको सुरक्षार्थ खटिएका असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुरक्षा घेराभित्र दुईजना कैदीको शङ्कास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति हिजै खाँदबारी पुगेको छ । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।