

बर्दिबिना सवारीसाधन चेक गर्ने प्रहरी कुटिए

धनगढी – कञ्चनपुरको पुनर्बासमा सोमबार राति प्रहरीमाथि कुटपिट भएको छ । पुनर्बास नगरपालिका–११ को टाउके बजारमा प्रहरी जवान रञ्जित साउदमाथि कुटपिट भएको हो ।
मोटरसाइकलको लाइसेन्स र ब्लुबुक चेकजाँच गर्न लागेका बेला स्थानीय युवाहरुले कुटपिट गरेका हुन् ।
पुनर्बास नगरपालिका–११ का वडाध्यक्ष तुुलसी अर्यालले साउदले स्थानीयको युवालाई सडकमा उतारेर प्रहरीको पोशाकबिना सवारीसाधन चेकजाँच गरेर दुःख दिन थालेपछि आक्रोशित स्थानीयले कुटपिट गरेको बताए ।
‘स्थानीयले टाउके बजारमा बर्दी बिनाको प्रहरीले सवारी साधन चेकजाँच गर्दै दुःख दिन थालेको छ भनेर खबर गरेपछि म पनि त्यहाँ पुगेको थिएँ’, अर्यालले भने, ‘आक्रोशित स्थानीयले प्रहरी जवान साउदमाथि कुटपिट गरेपछि उनी त्यहाँबाट भागेका हुन् ।’