ललिता निवास प्रकरणः विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं । ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गच्छदारसहित, पूर्व भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र पूर्व राज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनीहरूलाई प्रतिवादी बनाइएको थियो । अहिलेसम्म यो प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ, जसमा ४ पूर्व सचिव छन् । पूर्वमन्त्रीहरुविरुद्ध भने पहिलो पटक पक्राउ पूर्जी जारी भएको हो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीहरूलाई मुद्दा चलाएको थियो ।

सीआईबीले पनि अघिल्लो पटक जिल्ला सरकारी वकिल कार्यालयलाई गच्छदारसहित तत्कालीन मन्त्रीहरूलाई मुद्दा चलाउनुपर्ने राय दिएको थियो।

यसअघि सर्वोच्च अदालतले आइतबार मात्र निर्णय र निर्णय प्रक्रियामा संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको थियो। तत्कालीन प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईलाई समेत अनुसन्धानमा ल्याउन सर्वोच्चको आदेश छ।