

सर्वोच्च न्यायाधीसका पिएसओको पेस्तोल चोरी, २ जना पक्राउ

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशको सुरक्षामा खटिएका पिएसओको पेस्तोल चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २४ वर्षीय बासुदेव थामी र सिन्धुली घर भएका मेघबहादुर तामाङ छन् ।
असार ३१ मा प्रहरी नायव निरिक्षक (सई) प्रभाकर खड्काको घरबाट पेस्तोल चोरी भएको थियो । खड्का सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत हुन् ।
बौद्धस्थित खड्काको घरबाट पेस्तोल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।
बौद्धस्थित शिव मन्दिर नजिकै लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रहरीले प्रयोग गर्ने पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए ।