श्रीजयन्ती ट्रेड सेन्टर सञ्चालनमा आउँदै, संकटा र महांकालका दर्शनार्थीलाई विशेष छुट



काठमाडौं । राजधानीको मुटु न्यूरोड गेटसँगै जोडिएको श्रीजयन्ती ट्रेड सेन्टर छिटै सञ्चालनमा आउने भएको छ । विशेषगरी होलसेल मार्केटलाई लक्षित गरि खुल्न लागेको उक्त ट्रेड सेन्टरको निर्माण सम्पन्न हुने क्रममा रहेको छ ।

देशकै व्यस्त बजार न्यूरोडसँगै जोडिएको उक्त सेन्टरमा अन्डर ग्राउन्ड दुईतला पार्किङको व्यवस्थासहित निर्माण गरिएको उक्त भवनको पहिलो तला आगामी माघ १ गतेदेखि व्यापारिक प्रयोजनका लागि खुल्ने भएको छ ।

विभिन्न व्यापारिक साथै व्यवसायिक प्रतिष्ठान, वित्तिय कार्यालयका साथै सरकारी तथा गैर सरकारी संस्थाहरुको कार्यालयका लागि लक्षित गर्दै निर्माण गरिएको उक्त भवन उपत्यकाकै सबैभन्दा ठूलो क्षेत्रफल भएको व्यापारिक भवन रहेको श्रीजयन्ती ट्रेड सेन्टरले दाबी गरेको छ ।

होलसेल बजारलाई लक्षित गरिएको उक्त भवनको पहिलो र दोस्रो तलामा महिलाहरुसम्बन्धी पसलहरु राखिने जनाइएको छ । त्यस्तै तेस्रो तला पुरुष पहिरनका पसलका होलसेल पसलहरु रहने जनाइएको छ । चाैथो तलामा इलेक्ट्रोनिक्स सामाग्रीका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

पाँचौं तलामा विभिन्न वित्तिय संस्थाहरुलाई लक्षित गरिए निर्माण गरिएको उक्त भवनमा तेस्रो तलासम्म करिब चार सयभन्दा बढी होलसेल पसलहरु राख्न सकिने जनाइएको छ ।

त्यस्तै प्रतिक्षालयसहित विभिन्न खाद्य पदार्थ र कफी स्टलका साथै रेष्टुरेन्टसमेतको व्यवस्था गरिने उक्त भवनमा ग्राहक र सामान ल्याउन लैजानका लागि छुट्टै लिफ्ट र स्कालेटरको समेत व्यवस्था रहेको छ ।

जेनेटरसहितको २४ सै घन्टा ब्याकअपको व्यवस्था रहेको उक्त भवनमा २ सय भन्दा बढी चार पाङ्ग्रे सवारी र १ हजारभन्दा धेरै मोटरसाइकलहरु पार्किङ गर्न सकिन्छ । भूमिगत दुई तला पार्किङका लागि छुट्याइएको उक्त भवनको पार्किङ सुरु भइसकेको पनि जनाइएको छ ।

सामाजिक उत्तरदायित्वबाट अभिप्रेरित सेन्टरले संकटा मन्दिर र महाकांल मन्दिर दर्शनका लागि आउने दर्शनार्थीहरुलाई शनिबारको दिन २५ प्रतिशत पार्किङ शुल्क छुट दिने व्यवस्था गरेको छ ।